FAQs Complain Problems

वार्ड न : ६ ठिमुरे

वडाकाे परिचय

वडाको नाम        

ठिमुरे

(क) ऐतिहासिक पृष्ठभूमी

रिब्दीकोट गाउँपालिका वडा नं ६ साविकको ठिमूरे गा.वि.स. नेपालको प्रदेश नं ५ , पाल्पा जिल्लाको रिब्दीकोट डाँडा (कोटको डाँडा) को काखमा अवस्थित रहेको छ । यस वार्डको नाम ठिमूरे कसरी रहन गयो भन्ने सन्दर्भमा किम्बदन्ति अनुसार यस क्षेत्रमा प्रशस्त मात्रामा टिमूर पाईने हुनाले सुरुमा टिमूर बाट टिमूरे र पछि टिमूरे शब्दको अपभ्रंश भई ठिमूरे हुन गएको हो भन्ने भनाई रहेको छ । अझैपनि ठिमूरे र पालुङ्गमैनादीको सिमानाको एक स्थानलाई टिमूरडाँडा भनिन्छ ।

(ख) भौगोलिक पृष्ठभूमी

पाल्पा जिल्लाको सदरमुकामदेखि करिब २५ कि.मि. दक्षिण–पश्चिम अवस्थित यस क्षेत्र  उत्तरमा कुसुमखोला, पूर्वमा  मस्याम र भैरवस्थान, दक्षिणमा दोभान र कचल त्यस्तै पश्चिममा पालूंगमैनादी र फेक गाविस  ( साविकका ) रहेका  छन् । यस क्षेत्रको माथिल्लो बेल्ट  समुद्री सतहबाट  करिब  ६०००  फिट उचाईमा रहेकोले यहाँ हावापानीको दृष्टिकोणले चैत , बैशाख र  जेठ  महिना अनुकुल र अन्य महिनाहरुमा प्रायः हुस्सु लागिरहने भएकोले प्रायः जाडो भइरहने गर्दछ भने यस क्षेत्रको तल्लो बेल्ट समुन्द्र सतहबाट करिब २००० फिट उचाईमा रहेकोले तल्लो बेल्टमा भने केही न्यानो रहेको छ । यस क्षेत्रबाट अन्नपूर्ण, माछापुछ«े र धौलागिरी जस्ता हिमालहरुको मनोरम दृष्य अवलोकन गर्न सकिने र यस क्षेत्र जलेश्वर मन्दिर र रिब्दीकोट  डाँडा  को नजीक  रहेकोले  पर्यटकीय र  धार्मिक  अवलोकनको  दृष्टिले महत्वपूर्ण रहेको छ ।

(ग) सामाजिक र आर्थिक अवस्था

करिब ९८ ५ मगर जातीको बसोबास रहेको यस क्षेत्रका बासिन्दाहरुको जनजीवन मध्यम स्तरको रहेको छ । कृषि पेशालाई मूख्य पेशाको रुपमा अपनाएका करिब ९० ५ यहाँका बासिन्दाहरुले आफुले उब्जाएका बस्तुहरुलाई यस वडाको  लुली भट्टी भन्ने एक स्थानमा मंगलबार र शुक्रबार बजार लाग्ने हुनाले त्यहाँ लगी बिक्रि गर्दछन । यस क्षेत्रमा उत्पादन हुने कुनै पनि बस्तुहरु नबिकेर खेर फाल्नुपरेको छैन । यहाँका जंगलमा जरीबुटीको रुपमा प्रयोग हने ( प्रति केजी रु.९००) पर्ने टिमुर अधिक मात्रामा उत्पादन हुने भएकोले कतिपय जनताहरुको राजीरोटीको बाटो टिमुर रहेको छ । यस क्षेत्रमा पाल्पा जिल्लामै सबैभन्दा बढी मह उत्पादन हुने गर्दछ त्यसकारण कतिपयले मह बेचेर पनि आफ्नो जीवनस्तर उन्नती गरेका छन भने रोजगारीको अभावमा यहाँको मूख्य जनशक्तिको रुपमा रहेको युवा शक्तिहरु बैदेशिक रोजगारमा जान बाध्य भएका छन् र नगन्य रुपमा यहाँका केही जनताहरु सेवा क्षेत्रमा लागेका छन् ।

 

निश्कर्ष:

पाल्पा जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित यस ठिमूरेलाई बिकट क्षेत्र भनिएता पनि ऐतिहासिक, भौगोलिक तथा धार्मिक दृष्टिकोणले यस क्षेत्र पाल्पा जिल्लाकै महत्वपूर्ण गहनाको रुपमा परिचित छ , यस क्षत्रलाई नमूना क्षेत्र बनाउनका लागि यहाँका युवा बर्ग, बुद्धिजीवी , समाजेवी र राजनीतिज्ञहरु एक अर्का बिच समन्वय गरी लागि पर्न जरुरी छ ।    

क्षेत्रफल ः १४.३६

घरधुरी ः ५७८

जनसंख्या ः पुरूष ः १०६२     महिला ः १४६०

                जम्मा ः २५२२

 

 

 

Population: 
2522
Ward Contact Number: 
9847333896